काठमाडौं महानगरपालिकाकाे आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

११ नगरसभाबाट सार्वजनिक गरिएकाे नीति तथा कार्यक्रममा फाेहाेरकाे श्राेतबाटै वर्गीकरण गरी व्यवस्थापन गर्ने, कर्मचारीकाे कार्यसम्पादन मुल्याकंनका आधारमा सेवा सुविधा प्रदान गर्ने, नागरिककाे स्वास्थ्यविमामा ५० प्रतिशत छुट लगायतका कार्यक्रम घाेषणा गरिएकाे छ ।

आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने लगायतका कार्यक्रम समावेश छन् ।

त्यस्तै महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, काठमाडौं उपत्यकामा मेट्रो स्थापनाको सम्भाव्यता अध्ययन गर्ने, बाघदरबारकाे रेट्राेफिटिङ गर्ने लगायतका याेजना नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ ।

करदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएकाे छ भने फाेहाेर व्यवास्थापनका लागि फाेहाेरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

मेयर साहले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासीले सफाइ शुल्कमा विशेष सहुलियत पाउने घाेषणा गर्नुभएकाे छ । महानगरको फोहरमैलाकाे दीगो व्यवस्थापनका लागि उच्च प्रविधिकाे प्रयाेग गरिने समेत उहाँले बताउनुभएकाे छ ।

महानगरका कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरमा सवारी साधानकाे चरम दुरूप्रयाेग हुने गरेकाे महानगरकै प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments