६१४ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक
नेपालगञ्जमा २ वडाकाे मत गन्न बाँकी रहँदा नै गठबन्धनका उम्मेदवारकाे जीत सुनिश्चित
बैशाख ३० मा भएकाे स्थानीय तह निर्वाचनकाे मतपरिणाम आउने क्रम जारी छ । देशभरका ७५३ मध्ये ६१४ स्थानीय तहकाे मतगणना सकिएको छ । याे समाचार तयार पार्दासम्म ४०८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हाे ।
सार्वजनिक भएकाे परिणाम अनुसा २७४ पालिका जितेर कांग्रेस पहिलो, १७० स्थानमा जितेर एमाले दोस्रो र माओवादी केन्द्रले ११२ स्थान जितेर तेस्राे स्थान छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले १२, जनता समाजवादी पार्टीले १८ स्थान जित्दा अन्यले २८ पालिकामा जित हासिल गरेका छन् । अन्यमा विवेकशील साझा, सिके राउतकाे जनमत पार्टी, रेशम चाैधरीकाे समर्थनमा गठन भएकाे पार्टी, राप्रपा र स्वतन्त्र उठेर निर्वाचन जित्ने उम्मेदवार रहेका छन् ।
गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुकाे अग्रता लिइरहेका छन् । महानगरमा मतसंख्या धेरै भएकाले मतगणना सम्पन्न हुन समय लाग्ने देखिएकाे छ ।
चर्चामा रहेकाे भरतपुर महानगरपालिकामा रेनु दाहालकाे अग्रता बढिरहेकाे छ भने पाेखरा महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार धनराज आचार्यकाे अग्रता फराकिलाे बनिरहेकाे छ ।
अरू ४ महानगरमध्ये ललितपुर र विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहँदा विरगंजमा जसपा र काठमाण्डाैमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता देखिएकाे छ ।

