गुणस्तरीय शिक्षा नै आजको आवश्यकताः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभएको छ ।

पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती (७५ औं वार्षिकत्सव) कार्यक्रममा बोल्दै मन्त्री थापाले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘हाम्रो शैक्षिक स्तर स्वरोजगार उन्मुख हुनुपर्छ ।’ शैक्षिक नीतिलाई संशोधन गरी व्यवहारिक शिक्षा नीति बनाउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयाे ।

घोकन्ते विद्याले मात्र राम्रा जनशक्ति उत्पादन गर्न नसकिने भनाई उहाँको छ । मन्त्री थापाले विन्ध्यावासिनी माध्यामिक विद्यालयले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयाे ।

शैक्षिक गुणस्तर वृद्धि विकासका लागि शिक्षक, विद्यार्थी, र अभिभावकको भूमिका महत्वपूर्ण हुने तर्क उहाँको छ । उहाँले विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षालाई समेत जोड दिई दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री थापाले शैक्षिक स्तरको सुधारका लागि गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘संघीय सरकारसँग समन्वय गरी सामूदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलमा जस्तो सेवा प्रवाह गर्ने वातावरण बनाउन प्रतिबद्ध छौं’, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिक्षा नीतिका बारेमा बहस गर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सांसद विद्या भट्टराईले विद्यमान शिक्षा प्रणालीलाई सुधार नगरी देश विकास हुन नसक्ने बताउनुभयो ।

हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णवहादुर थापा, पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन इकाई प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पुर्व अध्यक्ष दान व. वानिया, महेन्द्र मा.वि भलामका प्रधानाध्यापक वोधराज पौडेल, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जारा, विद्यार्थी आशिका शेर्पा, अक्षयकोष दाता दुर्गा केसी थापा, लगायतले विन्ध्यवासिनी मा.वि यस क्षेत्रकै नमुना विद्यालय भएको भन्दै प्रशंसा गरेका थिए ।

प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सहायक प्र.अ राम बहादुर बानियाँले गर्नुभएको थियो ।

Facebook Comments