बलात्कारकाे आरोपित पाण्डे प्रहरी नियन्त्रणमा
सुन्दरी प्रतियाेगिता गर्ने क्रममा एक किशाेरीलाई बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनल सम्पन्न भएपछि सक्सेस पार्टी छ भनेर बाेलाएर एभरेष्ट हाेटलमा बलात्कार गरेकाे भन्दै एक किशोरीले भिडियाे सार्वजनिक गरेपछि निजकाे खाेजी भएकाे थियाे ।
प्रहरीले शनिबार दिउँसो काठमाडौंकाे स्वयम्भुबाट पक्राउ गरेको हाे । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।
युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जाल तथा भाैतिक रूपमा समेत काठमाण्डाै, पाेखरा लगायतका सहरमा युवाहरूले दाेषीमाथि कार्वाहीकाे माग गर्दै प्रदर्शन गरेका थिए ।
संसदमा समेत कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएकाे थियाे ।
सभामुखकाे निर्देशनपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा घटनाकाे छानविनका लागि समिति गठन गरेको थियो।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने गर्छ ।
घटनापछि संसद, सामाजिक सञ्जाल प्रदर्शनकाे क्रममा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग भएकाे छ ।

