एटिएम मेसिन जडानमा त्रुटी रहेकाे प्रहरी निष्कर्ष

प्रहरीले नेपालका वित्तीय संस्थाले एटिएम मेसिन जडानका क्रममा पर्याप्त सुरक्षा सावधानी नअपनाएकाे निष्कर्ष निकालेकाे छ ।

पटक पटक एटिएम मेसिन फाेड्ने प्रयास भएकाे तथा कतिपय बैंककाे एटिएम फाेडेर पैसा चाेरी भएकाे घटनाकाे अनुसन्धानपछि प्रहरीले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

प्रहरीका अनुसार एटिएमकाे मेसिनकाे भित्री भागमा हुने भल्टकाे लकमा बैंकहरूले सावधानी अपनाएका छैनन । मेसिनकाे बाहिरी भागकाे लक राम्राेसँग गरेपनि भित्री भल्टकाे लकमा प्रयाप्त ध्यान नदिदा एटिएमकाे सुरक्षामा चुनाैति थपिएकाे प्रहरीकाे निष्कर्ष छ ।

साउन महिनाकाे ४ गते राती कास्कीमा एनएमबी र एनआईसी एसिया बैंककाे एटिएम मेसिन फाेडिएकाे घटनाकाे अनुसन्धानपछि प्रहरी यस्ताे निष्कर्षमा पुगेकाे हाे ।

उक्त घटनामा अर्घौंचोकस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेर १४ लाख ७१ हजार चाेरी भएकाे थियाे भने एनआईसी एसिया बैंकको मेसिन फोड्ने प्रयास असफल भएकाे थियाे ।

प्रहरीले घटना भएकाे करिव १ महिनापछि अभियुक्त पक्राउ गरेकाे छ ।

साेही दिनमा भने प्रहरीले ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेलमेट कोलेफाँटमा फेला पारेकाे थियाे । सवारी धनीलाइ साेधपुछ गर्दा बाइक पनि हराएकाे जानकारी प्रहरीले पाएकाे थियाे ।

प्रहरीले करिब एक महिना लगाएर पूर्वी नवलपरासीको देवचुली नगरपालिका ५, घर भई हाल पोखरा वडा नं. ३० बस्ने २१ वर्षीय भेडे भनिने अनिष तामाङलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार तामाङलाई भदौ २ गते रुपन्देहीकोे बेलहिया नाकाबाट भारत जाने क्रममा पक्राउ गरिएकाे हाे ।

९ कक्षामा अध्ययनरत आइटीमा पाेख्त तामाङले मादक पदार्थ सेवन गरी माेटरसाइकल चाेरी गरेपछि एटिएम मेसिन फाेड्ने याेजना बनाएकाे बयानका क्रममा स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ ।

तामाङकाे साथबाट प्रहरीले आइफोन, माेटरसाइकल र १९ हजार रूपैयाँ बरामद गरेकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले उल्लेख गरेकाे छ ।

Facebook Comments