कांग्रेसकाे मित्रवत प्रतिस्पर्धाकाे निर्णयसँगै विकल्प साेच्ने माओवादी केन्द्रकाे तयारी

नेकपा माओवादी केन्द्रले कास्कीमा चुनावी तालमेलका सन्दर्भमा विकल्प साेच्न सक्ने बताएकाे छ । कांग्रेसले मित्रवत प्रतिस्पर्धा भनेर महानगरकाे मेयर बाहेकका पदमा तालमेल नगर्ने निर्णय गरेपछि माओवादी केन्द्रभित्र विकल्प साेच्नुपर्ने धारणा सार्वजनिक भएकाे हाे ।

गठबन्धन नगर्ने कांग्रेसकाे एकतर्फी निर्णय भएकाेले तालमेलबारे फरक ढंगले छलफल अगाडि बढ्न सक्ने माओवादी केन्द्रका नेता दीपक कोइरालाकाे भनाइ छ ।

निर्णयबारे कांग्रेसले औपचारिक रूपमा केही नभनेकाे उहाँले बताउनुभयाे । कोइरालाले औपचारिक रूपमा कांग्रेसले गठबन्धनमा नजाने बताएमा नयाँ ढंगले अघि बढ्ने निश्चित रहेकाे उल्लेख गर्नुभयाे । उहाँले विकल्प साेच्ने भनेपनि त्याे के हाे भन्नेचाही स्पष्ट बताउनुभएन ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गरेर जाने निर्णय गरेको जानकारी आइतबार साँझ सार्वजनिक गर्नुभएकाे छ ।

Facebook Comments