चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडाैंमा
चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे छ ।
चार्टर्ड जहाजमा भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुग्नुभएका विदेश मन्त्री वाङ यीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभयाे ।
पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर उहाँ नेपाल भ्रमणमा आउनुभएकाे हाे । चीनका स्टेट काउन्सिलरसमेत रहेका मन्त्री वाङले २०७६मा पनि नेपाल भ्रमण गर्नुभएकाे थियाे ।
तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री सँग भेटवार्ता गर्ने बताइएकाे छ ।
शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र यी नेतृत्वका दुई टोलीबीच औपचारिक वार्ता हुने कार्यक्रम तय भएकाे छ ।
वाङकाे भ्रमणका दाैरान नेपालले पूर्वाधार विकास परियोजनामा चिनियाँ सहयाेगका सम्बन्धमा छलफल गर्ने भएकाे छ । मुख्य गरी चीनले अगाडि सारेकाे बृहत पूर्वाधार विकास ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजनामा यसअघि नै नेपाल र चीनवीच समझदारी भइसकेकाे छ ।
सम्झाैता भएका पूर्वाधार विकास परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल गर्ने नेपाली पक्षकाे तयारी छ ।
आइतबार मन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचणडलाई भेट्ने कार्यक्रम छ।

