एमालेबाट पोखराकाे मेयरमा थापा र उपमेयरमा गुरुङकाे उम्मेदवारी
नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङकाे उम्मेदवारी दर्ता भएकाे छ ।
नेकपा एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर प्रस्तावित पाैडेल एकाएक विवादित भएकाे भन्दै स्वयं एमाले कार्यकर्ताले नै विराेध गरेपछि एमालेले उम्मेदवारमा प्रदेश सांसद कृष्ण थापालाइ अगाडि सारेकाे थियाे ।
थापाले मेयरकाे टिकट पाउने निश्चित भएपछि मंगलबार नै सांसदबाट राजीनामा दिनुभएकाे थियाे । उपप्रमुखमा मनोनयन दर्ता गर्दै मञ्जुदेवी गुरुङले आफूलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा नभएपनि पार्टीकाे निर्णय मानेकाे प्रतिक्रिया दिनुभएकाे छ ।
आफूले प्रमुख र उपप्रमुख दुवै पदमा आकांक्षा पनि नराखेको अवस्थामा पार्टीले इच्छाबेगर मनोनित गरेको उहाँकाे भनाइ छ ।
पोखरा पूर्वमेयरसमेत रहेका कृष्ण थापाले भने अब अन्तिमपटककाे निर्वाचन भन्नुभएकाे छ । उहाँले पटक पटक अवसर पाएकाे भन्दै अब निर्वाचनमा भाग नलिने बताउनुभएकाे छ ।

