राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्यका लागि भएकाे निर्वाचनमा १९ मध्ये १८ जना सदस्य सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश नं. १ मा भने गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी हुनुभएकाे छ ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी हुनुभयाे भने सत्तारूढ गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएकाे छ ।
बराबर मत ४ हजार ४ सय ८८ मतभार आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो। गाेलाप्रथामा कांग्रेसका बस्नेत विजयी बन्नुभएकाे हाे ।
प्रदेश नं. १ बाहेक वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी बनेका छन् ।
गण्डकीबाट सत्ता गठबन्धनका नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार विजयी बन्नुभएकाे हाे । एमालेबाट लिला पाेखरेल थनेत, पुण्य पाैडेल र अर्जुनकुमार सुनाम प्रतिस्पर्धामा थिए ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दिननाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदा असारमा पदावधि सकिने भएकाले निर्वाचन गरिएकाे हाे ।
सुदूरपश्चिम प्रदेशमा भएको तीन राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनले बाजी मारेको छ। बुधबार साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका हुन्।
खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभएकाे हाे ।
लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ।
राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी हुँदा एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित हुनुभयाे ।
कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्।
नेपाली कांग्रेसबाट दुर्गा गुरूङले २९७० मतभार ल्याएर विजयी हुनुभयाे । यस्तै नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले ३००६ मतभार ल्याएर निर्वाचित हुँदा नेकपा (एकीकृत समाजवादी) का उदय बोहराले ३००६ मतभार ल्याएर विजयी हुनुभयाे ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुनुभएकाे छ ।

