युक्रेनमा संकटः नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासकाे अनुरोध
रूसको आक्रमणमा परेको युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेकाे छ ।
साथै दुतावासले नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको पनि जनाएको छ। हालसम्म १ सय ९३ जना नेपाली बर्लिनस्थित युक्रेनसमेत हेर्दै आएको नेपाली दूतावासकाे सम्पर्कमा आएका छन्।
युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ। रूसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले विज्ञप्ति मार्फत् पश्चिमतर्फका देशहरूतर्फ जान सुझाएकाे हाे ।
युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ।
युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेका छन् । साे जानकारी नियोगमा प्राप्त भएको दुतावासले जनाएको छ ।
युक्रेनमा अध्ययन तथा राेजगारीका लागि नेपालीहरू पुग्ने गरेका छन् ।


