गठबन्धन बचाएर समस्या पार लगाउन उपाय खाेज्दैछाैंः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई एमसिसी लगायतका राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ प्रयत्न भइरहेकाे बताउनुभएकाे छ ।
गठबन्धनमा रहेका दलहरूको गठबन्धन कायमै राखेर एमसिसीकाे बिषय कसरी टुंगाे लगाउन सकिन्छ भनेर छलफल भइरहेकाे बताउनुभयाे ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताउनुभएकाे हाे ।
एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको प्रचण्डकाे टिप्पणी थियाे ।
प्रतिगमनकारी गठबन्धन अगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेकाे प्रचण्डकाे भनाइ थियाे ।
उहाँले जनयुद्ध लगायतका संघर्षबाट प्राप्त भएका उपलब्धि बचाएर नयाँ उपलब्धि हाँसिल गर्नेतर्फ ध्यान लगाएकाे बताउनुभयाे ।

