नेपाल र चीन सरकारबीच ९ वटा समझदारी-पत्रमा हस्ताक्षर
अन्तर देशिय रेल निर्माणकाे संभाव्यता अध्ययन गरिने
नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा बिभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर गरिएकाे हाे ।
शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी सहित दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे थियाे ।
साेही भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल चीन अन्तरदेशीय रेल निर्माणकाे संभाव्यता अध्ययन, अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने लगायतका रहेका छन् ।
त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात सम्बन्धि प्राेटाेकल , नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन तथा हस्तान्तरण गर्नेसम्बन्धी समझदारीमा समेत हस्ताक्षर भएको हो ।
दुइ देशका परराष्ट्रमन्त्रीकाे उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
यसैवीच चीन सरकारकाे सहयाेगमा निर्माण भइरहेकाे पाेखरा विमानस्थल पनि नेपाल सरकारलाइ हस्तान्तरण गरिएकाे छ ।

