एमसीसी संसदबाट अनुमोदन

प्रतिनिधिसभाले मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने लगायत १२ बुँदे व्याख्यात्मक घाेषणा समेत राखेर प्रतिनिधिसभा बैठकमा ध्वनी मतले एमसीसी पारित गरेकाे हाे ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएकाे थियाे । जसलाई एमसीसीसँगै अनुमोदन गरिएकाे हाे ।

यद्यपि व्याख्यात्मक घाेषणाकाे कानुनी आधारबारे भने फरक फरक टिप्पणी भइरहेकाे छ । एकाथरिले व्याख्यात्मक घाेषणा अमेरिकाले अस्वीकार गरे एमसीसी खारेज हुने तर्क गरेका छन् । कतिपयले भने दुइपक्षीय सम्झाैताकाे सम्बन्धमा एकपक्षीय व्याख्यात्मक घाेषणाकाे कुनै अर्थ नहुने बताएका छन् ।

८ फागुनमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो ।

सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरेका थिए भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका केही सांसदहरुले एमसीसीकाे विराेध गरेका थिए । त्यस्तै नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमाले सांसद भिम रावलले पनि विपक्षमा मतदान गर्नुभएकाे थियाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रकियामै भाग लिएनन् । तर उनीहरूले एमसीसीकाे बारेमा नभइ १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै नाराबाजी गरेका थिए ।

अमेरिकाले भने नेपालकाे संसदबाट एमसीसी पारित भएसँगै एमसीसी कार्यान्वयनमा जाने भन्दै स्वागत गरेकाे छ । नेपालस्थित अमेरिकी दुतावासले एमसीसी अनुमाेदन भएकाेमा धन्यवाद दिदैं अव कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएकाे छ ।

Facebook Comments