फरक खाेप भएपनि बुस्टर डाेज लगाउन मिल्ने

नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ ।

मन्त्रालयले विश्वस्वास्थ्य संगठनले ताेकेकाे मापदण्ड तथा मन्त्रीस्तरीय निर्णय गर्दै खाेप फरक भएपनि बुस्टर डाेज लगाउन मिल्ने जनाएकाे हाे ।

निर्णय अनुसार अब भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने छ ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

पछिल्लो तीन दिनदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर घटेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तीन दिनमा संक्रमण दर १२ प्रतिशतले घटेको छ।

शुक्रबार कुल २१ हजार ८०८ जनाको परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियाे । पछिल्ला दिनमा संक्रमण घटेपनि जाेखिम टरिनसकेकाले सचेत हुनुपर्ने मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments