स्थानीय तह निर्वाचनः ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने कार्यतालिका छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहेमा बैशाख १६ मा फिर्ता लिन सक्ने उल्लेख थियाे ।
यसरी उम्मेदवारी फिर्ता लिन चाहेमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सकिनेछ।
आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ । यसअघि उम्मेदवारहरूकाे याेग्यताका बिषयमा छानविन गरेकाे आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्न लागेकाे हाे ।
सत्ता गठबन्धन गरिएका स्थानीय तहमा धेरै स्थानमा बागी उम्मेदवारी परेकाे छ । उनीहरूले गठबन्धनकाे निर्णय मानेमा फिर्ता लिन सक्नेछन् ।

