आ.व. ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदकाे संयुक्त बैठकमा बजेट वक्तव्य मार्फत् १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएकाे हाे ।

जसमध्ये चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलनकाे लक्ष्य लिइएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने तथा ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने सरकारकाे याेजना छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिनुभयाे ।

चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट रहेकाे थियाे ।

कर्मचारीकाे तलव १५ प्रतिशतले बृद्धि

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने भएकाे छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गर्नुभएकाे छ ।

सरकारी कार्यलयका लागि सवारी साधन नकिन्ने

सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

अब ६८ बर्षमै बृद्ध भत्ता

अबदेखि ६८ वर्षमाथिका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सन् २०२१ मा सार्वजनिक भएकाे केन्द्रीय तथ्यांक विभागको अनुमान अनुसार वृद्धवृद्धाकाे संख्या १८ लाख २७ हजार रहेको छ। 

हाल वृद्धवृद्धाले मासिक ४ हजार रूपैयाँ वृद्धभत्ता प्राप्त गरिरहेका छन् । सरकारले ६८ बर्षमाथिका ज्येष्ठ नागरिकलाइ दोहोरो सुविधा नपाउने गरी वृद्धि वृद्ध भत्ता दिने ब्यवस्था गरेकाे हाे ।

Facebook Comments