तारा एयरको जहाज दुर्घटनाग्रस्त
हिजाे बिहानदेखि सम्पर्कविहीन तारा एयरकाे ९ एन एइटी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनास्थलमा नेपाली सेना सहितकाे उद्दार टाेली पुगेकाे छ । जहाज क्षतविक्षत अवस्थामा भेटिएकाे हाे ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयाे ।
आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन भएकाे थियाे ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कविहीन भएकाले दुर्घटनाकाे शंका गरिएकाे थियाे ।
जहाजमा चालक क्याप्टेन प्रभाकर घिमिरे, काे पाइलट उत्सव पाेखरेल, एअर हाेस्टेज र १९ यात्रु रहेकाे तारा एअरले जनाएकाे छ ।

