विभूषणमा प्रयाेग हुने सुनको परिमाण घट्ने
सरकारले वितरण गर्ने विभिन्न मानपदवी तथा विभूषणकाे बनावट फेरिने भएकाे छ । साथै विभूषणमा प्रयाेग गरिने सुनकाे मात्रा समेत परिवर्तन गर्ने सरकारकाे निर्णय छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साे जानकारी दिनुभएकाे हाे ।
मंगलबारकाे निर्णय विद्युतसँग सम्बन्धित प्रशारण लाइन सम्बन्धि रहेकाे छ । काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने मन्त्री परिषदकाे पहिलाे निर्णय छ भने विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने दाेस्राे निर्णय छ ।
त्यस्तै सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने भएकाे छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएकाे छ । भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएकाे छ भने महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने अनुमति प्रदान गर्ने निर्णय भएकाे छ ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गरेकाे छ । निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्नुका साथै श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय पनि सरकारले गरेकाे छ ।

