एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संक्रामक रोग ऐन २०२० काे प्रावधान अन्तर्गत कार्वाहीकाे माग सहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।
‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध आइतबार उजुरी परेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे छ ।
ओली कोरोना संक्रमण भएको चौथो दिनमा गत माघ १२ गते सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि जारी गरिएकाे आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख थियाे ।
१० वर्ष र १ लाख जरिवाना हुन सक्ने
संक्रामक रोग ऐन २०२० अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अनुसार कारबाही हुने व्यवस्था गरेको छ । ऐनको दफा १०४ अनुसार कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिन दिने काम गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।

