जिल्ला सहकारी संघ म्याग्दीले बनायो ४ वर्षे रणनीतिक योजना
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको ४ वर्षे रणनीतिक योजना निर्माण भएको छ । संघले आगामी ४ वर्ष सम्मका लागि रणनीतिक व्यवसायिक योजना निर्माण गरी संघका सम्पूर्ण गतिविधिहरु यसै योजना अनुरुप संचालन गर्ने लक्ष्य लिएको संघका अध्यक्ष प्रेम बहादुर कार्की (दिपक कार्की) ले जानकारी दिनुभयो ।
सवल, गतिशिल र नेतृत्वदायी जिल्ला सहकारी संघ भन्ने परिकल्पनाका साथ रणनीतिक योजना निर्माण गरिएको र संघको अबको सम्पूर्ण ध्यान रणनीतिक योजना अनुसार संघको संस्थागत विकास र सदस्य संघ संस्थाहरुको प्रवर्द्धनका काम गरिने अध्यक्ष कार्कीको भनाइ छ ।
सहकारी संघ संस्थामा सक्षमता र सुशासन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने ध्येयका साथ संघले आगामी ४ वर्षका कार्यक्रमहरु अगाडि बढाउने गरी योजना निर्माण गरेको छ ।
रणनीतिक योजना निर्माण कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले गर्नु भएको थियो ।
सो अवसरमा उहाँले स्पष्ट योजनाका साथ कार्यक्षेत्रमा लाग्ने हो भने सबै सहकारीले लिएको लक्ष्य पुरा हुने र सहकारी अभियानको प्रभावकारीता बढ्ने धारणा राख्नुभयो ।
राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोगमा सञ्चालन भएको रणनीतिक योजना निर्माण तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जिसीले योजना बनाउने मात्र नभएर यसको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।
बिना योजना संघ संस्थालाई व्यवस्थित रुपमा अगाडि बढाउन नसकिने भन्दै उहाँले योजना निर्माण गर्ने र सोही योजनाका आधारमा नियमित रुपमा गतिविधि गर्ने हो भने संघ संस्थाको लक्ष्य पुरा हुने बताउनुभयो ।
कार्यक्रम संघका अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सञ्चालक तेजकुमारी बानियाको सञ्चालनमा भएको थियो ।

