माओवादी केन्द्रकाे बैठकमा सुन तस्करी प्रकरणकाे चर्चा, छानबिन निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड

नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकमा नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा सरकारले सञ्चालन गरिरहेकाे अभियान निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड दिएका छन् ।

साेमबार भएको पदाधिकारी बैठकमा नेताहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान गरी कार्वाहीकाे दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासनको क्षेत्रमा व्यापक अभियान चलाइरहेको उल्लेख गर्नुभएकेा थियाे ।

बैठकमा संलग्न एक नेताका अनुसार भ्रष्टाचारमा संलग्न जो भए पनि अनुसन्धान हुने प्रधानमन्त्रीले बताउनुभएकाे थियाे ।

उहाँले सरकारको यो अभियानलाई भ्रममा पार्ने र विषयान्तर गर्ने प्रयास भएपनि पार्टीभित्र र बाहिर जो भए पनि भ्रष्टाचारमा संलग्नलाई नछाडने उल्लेख गर्नुभएकाे थियाे ।

बैठकमा उपमहासचिव वर्षमान पुनले सुन काण्डमा पक्राउ परेका व्यक्ति (दावा छिरिङ) सँग करिब ५ वर्षअघि खिचेको फोटोलाई लिएर भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएकाे थियाे । उहाँले क्विन्टल सुन तस्करी प्रकरणकाे विषयमा उच्च स्तरीय छानबिन हुनुपर्ने माग गर्नुभएकाे थियाे ।

पुनेले हामी नेता, हाम्रा आफन्त वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्ने बताउनुभएकाे थियाे ।

पुनले पार्टीबाहिर वा भित्र अमूक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति रहेकाे भन्दै यस्ताै शैली सैह्य नहुने बताउनुभयाे ।

Facebook Comments