तराईमा अत्याधिक गर्मी
मनसुन शुरू नहुँदा देशका खास गरी तराईका जिल्लाहरूमा तापक्रम अत्याधिक बढेकाे छ । जसका कारण तराईका अधिकांश जिल्लामा विद्यालयमा विदा दिइएकाे छ ।
गर्मीका बेला हिडडुल तथा विद्यालय सञ्चालन गर्दा विद्यार्थीकाे स्वास्थ्यमा जोखिम हुने भएकाले विद्यालय बन्द गरिएकाे हाे ।
जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना रहेकाे भन्दै सचेत हुन आग्रह गरको छ ।
विभागका अनुसार केही दिनयता तराईका विभिन्न स्थानमा तापक्रममा उच्च वृद्धि भएकाे छ । विभागले कुनै पनि स्थानमा निश्चित स्तर (थ्रेसहोल्ड) नाघ्ने अवस्था ३ दिनसम्म लगातार रहेमा त्यस्ता स्थानहरूमा तातो हावा र लु काे संभावना हुने जनाएकाे छ ।
विभागले काठमाडौंमा समेत गर्मी बढेकाे जनाएकाे छ । काठमाण्डाैमा तातो दिन हुनका लागि तापक्रम ३१.३ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ । काठमाण्डाैमा वितेका केही दिन यता ३१ डिग्रि सेल्सियसकाे हाराहरीमा तापक्रम पुग्ने गरेकाे छ ।
माैसम विभागले एक बुलेटिन निकाल्दै तातो हावा तथा लुबाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको छ ।
बाहिरी वातावरणमा नजान साथै हल्का सुतीको कपडा लगाएर, टाउको छोपेर वा टोपी लगाएर मात्रै बाहिर निस्कन तथा झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने विज्ञहरूकाे सुझाव छ ।
देशभरको अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण देशको तराईका केही भू-भागहरूमा तातो हावा / लू (Heat Wave) चलिरहेको अवस्था छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै लुम्बिनी प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ-गर्जन/चट्याङ्ग तथा हावा-हुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
विभागले जारी गरेकाे लू सम्बन्धि बुलेटिन
विशेष बुलेटिन : तातो दिन तथा लू सम्बन्धी बुलेटिन – १ (Hot days & Heat wave Bulletin – 1)
(जारी मितिः २०८०/०२/१९ दिउँसो २: ०० बजे)
हालको अवस्थाः
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।
चेतावनी नक्सा ( २०८०/०२/१९ का लागि जारी गरिएको)

चेतावनी तथा परामर्शः
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू (Heat wave) लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।
सम्भावित असर तथा सुझावहरूः
तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।
सुझावहरूः
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।
यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।

