होली मनाइँदै

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।

होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश मार्फत मर्यादित ढंगले होली मनाउन आग्रह गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले दिएको सन्देशमा होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे छ ।

सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन होली पर्वले योगदान पुर्याउने विश्वास लिनुभएकाे छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

Facebook Comments