माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले जवाफ दिने
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विगत ५ दिनदेखि राजधानी काठमाण्डाैमा जारी छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिएसँगै आज नै बैठक समापन गर्ने तयारी रहेकाे छ ।
बैठकमा धारणा राख्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले लिखित रूपमा सुझाव पेश गर्ने गरी बैठक सक्न लागिएकाे हाे । यसअघि २२१ जना ले बैठकमा धारणा राखिसकेका छन् ।
आज ११ बजेका लागि तय भएकाे बैठक १ बजेका लागि सारिएकाे छ । केन्द्रीय समिति बैठक अगाडि पदाधिकारीकाे छलफल राखिएकाे छ ।
बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागिता लगायतका विषय उठाएका छन् ।
पार्टीमा उत्ताराधिकारीकाे विकास गर्न विधिकाे विकास गर्नुपर्ने धारणा नेताहरूले राखेका छन् । साथै केन्द्रीय समिति भद्दा भएकाे भन्दै २ अंकमा झार्न सुझाव दिएकाे छ । हाल ४०० भन्दा बढी केन्द्रीय सदस्य छन् ।

