ललिता निवास प्रकरणः पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरी अनुसन्धान जारी छ ।
यसैवीच प्रहरीले साे प्रकरणका विभिन्न निर्णयमा संलग्न रहेका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ । अदालतबाट अनुमति लिएर पूर्व सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पूर्जी जारी गरिएकाे हाे ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना सचिव सहित १७ जना कर्मचारीमाथि अनुसन्धान भइरहेकाे छ । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाहलाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।
अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजासहित अन्य २ जनालाई कागज गराएर छाडिएको छ । मुलुकी ऐन २०२० र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
०४९ देखि ०६९ को अवधिमा हडपिएको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ । याे प्रकरणमा २ सय ४० व्यक्ति अनुसन्धानमा तानिएका छन् ।

