ललिता निवास जग्गा हिनामिना प्रकरणः ४ पूर्वमन्त्रीविरूद्ध पक्राउ पूर्जी जारी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार जना पूर्वमन्त्री विरूद्ध पक्राउ पूर्जी जारी भएकाे छ । प्रहरीले पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे हाे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे हाे ।

सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।

भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादीमा रूपमा उल्लेख छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।

यसै मुद्दामा सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरणकाे फैसला गर्ने क्रममा उच्च तहका संलग्नमाथि समेत अनुसन्धान गर्न भनेकाे छ । नाम नताेकेपनि तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका पालामा समेत मन्त्रिपरिषद्ले गरेकाे निर्णय सम्बन्धमा यस्ताे आदेश भएकाे अनुमानसहित विवरणहरू आएका छन् ।

Facebook Comments