एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया शंकास्पद, यथास्थितिमा राख्न लेखा समितिको निर्देशन

सांसदहरूले एनसेलकाे शेयर खरिद बिक्री प्रकरण शंकास्पद भएकाे बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिले शंकास्पद देखिएको एनसेलको सेयर खरिद–बिक्री कारोबार यथास्थितमा राख्न समेत सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकले एनसेलको सेयर कारोबार वा हक हस्तान्तरणको विषयमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्म कारोबार यथास्थितिमै राख्न भनेकाे हाे ।

समितिले ३० दिनभित्र प्रतिवेदन प्राप्त हुने गरी स्वतन्त्र अनुसन्धान गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।  मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर अत्यन्तै न्यून मूल्यमा बिक्री गरेको सार्वजनिक भएकाे थियाे ।

कर छल्नका लागि यस्ताे गरिएकाे अधिकांशकाे शंका छ भने नियामक निकायहरूलाई समेत एनसेलले अहिलेसम्म यसबारे जानकारी दिएकाे छैन ।

बैठकमा एनसेलले कानुनी व्यवस्थाको परिपालना नगर्नु, सेयर खरिद–बिक्रीमा अवास्तविक तथ्यांक देखाउनु, अनपेक्षित एवं अविश्वसनीय र अपारदर्शी तवरमा अति न्यून मूल्यांकन गरी खरिद–बिक्री गरिनुमा शंका उत्पन्न भएकाे सांसदहरूकाे भनाई थियाे ।

नेपालबाहिर सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभकर, स्वामित्व हस्तान्तरण करलगायतका करहरू प्रभावित गर्न खोजिएकाे लेखा समितिकाे निष्कर्ष छ ।

Facebook Comments