क्रिकेट रंगशाला निर्माण गर्ने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी तिव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा उहाँले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै सरकारले क्रिकेट रंगशाला निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, “क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।”

उहाँले क्रिकेटप्रति नेपाली जनता र युवामा देखिएको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको भन्दै खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न अगाडि बढ्ने बताउनुभयाे ।

प्रधानमन्त्रीले भन्नुभयाे, “क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ, यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।

कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताउनुभयाे ।

Facebook Comments