हमास–इजरायल युद्धः इजरायलले ४ घण्टा संघर्षविराम गर्ने

इजरायलले हमासमाथिकाे सैन्य कार्वाही जारी राखेकाे छ । पछिल्लाे समय अस्थायी संघर्षविरामका लागि इजरायल तयार भएको अमेरिकाले जनाएकाे छ ।

हमासविरूद्धकाे सैन्य कार्वाहीमा अमेरिकाकाे साथ पाएकाे इजरायलले पछिल्लाेपटक केवल ४ घण्टाका लागि संघर्षविराम गर्न सहमत भएकाे बताइएकाे छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीलाई उधृत गर्दै बिबिसीले बताए अनुसार युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने र साे समयमा कुनै पनि सैन्य गतिविधि नहुने उल्लेख छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्धकाे सैन्य कारबाही जारी राखेको छ ।

इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित हजाराैं सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको विश्वभर आलोचना हुँदै आएको छ ।

संयुक्त राष्ट्रसंघमा धेरै राष्ट्रहरूले युद्ध राेक्ने प्रस्ताव गरेपनि इजरायलले हमासमाथि सैन्य कार्वाही जारी राखेकाे हाे ।

यद्यपि पछिल्लाे समय अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताइएकाे छ ।

हमासले ७ अक्टुबरमा इजरायलमा गरेको आक्रमणबाट १० नेपालीहरुसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै सुरु गरेको हवाई र स्थल आक्रमणबाट हालसम्म १० हजार ८०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

Facebook Comments