तिहारकाे दाेस्राे दिन, कुकुरकाे पुजा गरिदैं, साँझ लक्ष्मी पुजा

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । आज साँझ नै ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।

आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। हिन्दु धर्मावलम्वीहरूले सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गर्दछन् ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। सुखरात्री भनेर चिनिने लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

तिहार बत्ती उज्यालेकाे पर्वका रूपमा पनि परिचित छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्।  

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। 

सामाजिक कार्यहरूका लागि समेत देउसी भैलाे खेल्ने प्रचलन रहेकाे छ । देउसी भैलाेमा रमाइलाे गर्ने प्रचलन रहेकाे छ

Facebook Comments