सवारी चालक अनुमति पत्र लिन नयाँ मापदण्ड लागू हुँदै

बागमती प्रदेश सरकारले आज (फागुन २) गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्दैछ । यसका लागि प्रदेश सरकारले ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ बनाएकाे छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न लागेकाे हाे। 

बागमती प्रदेशमा मात्रै मातहतका बिभिन्न स्थानमा दैनिक ६ हजार जनाले ट्रायल दिने गरेका छन् ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था लागू गरिसकेकाे छ । यस अघि गण्डकी प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ मा याे व्यवस्था लागू भइसकेकाे छ ।

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिन केही सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ‘ख’ (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्नपत्र संग्रह बनाइएकाे छ । साेही प्रश्नपत्र संग्रहबाट लिखित परीक्षामा प्रश्न साेधिनेछ । त्यस्तै ट्रायलका लागि कार्यालयले ताेकेकाे सवारी साधन प्रयाेग गर्नुपर्नेछ । यसअघि परीक्षा दिने स्वयंकाे सवारी साधन समेत प्रयाेग गर्न सकिने ब्यवस्था थियाे ।

ट्रायलमा परीक्षार्थीले घुमाउरो आठमा २०, साँघुरो फलेक-१०, युटर्न-१० अंक, ट्राफिक संकेत-१५ अंक, बम्प्स (उबडखाबड)-१५ अंक, उकालो-२० अंक र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन-१० अंकभारका लागि प्रयाेगात्मक परीक्षा दिनुपर्नेछ ।

Facebook Comments