नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित स्पेनमा विशेष कार्यक्रम हुने
नेपाली नयाँ वर्षका अवसर पारी स्पेनमा रहेका नेपालीहरूले बिशेष कार्यक्रम गर्ने भएका छन् ।
१६ अप्रिल २०२३ अर्थात् नेपाली नयाँ वर्षा २०८० काे बैशाख ३ गते आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएकाे हाे ।
बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनले गर्ने कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, नेपाली खानाको स्टल , नेपाल सम्बन्धि सामाग्रिहरूको स्टलको साथमा “नेपाल पर्यटन प्रवर्द्धन तथा नयाँ नेपाली बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम ” हुनेछ ।
उक्त कार्यक्रममा सम्पूर्ण स्पेनवासी नेपाली आमा, बुवा, दाजु, भाई, तथा दिदी, बहिनीहरु, स्पेन स्थित नेपाली संघ संस्थाहरु, बुद्दिजीवी, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी, कुटनीतिक निकाय लगाएत सबैको गरिमामय उपस्थिति रहने विश्वास गरिएकाे छ ।
हजारौं नेपाली समुदाय तथा विदेशी पर्यटकहरूले कार्यक्रममा सहभागी भइ भरपुर मनाेरञ्जनका साथ कार्यक्रम अवलोकन गर्न सक्नेछन् ।
कार्यक्रममा स्थानी नेपाली कलाकारहरूको साथमा नेपाली कलासंस्कृति , जात जाति भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामाग्रीहरू सहित स्टल , नेपाली खानाको परिकारहरूको स्टल रहने नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अशोक किरण न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कला संस्कृति , विभिन्न जाति भेषभुसा झल्कने गुरूगं समुदाय,तामागं समुदाय,मगर समुदाय, नेवार समुदाय, शेर्पा समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय लगाएतका संस्थाहरूका कलाकारहरूवाट प्रस्तुतिहरू रहने छन।
उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनकालागि स्पेनबासी सम्पूर्ण नेपाली समुदाय तथा संघ संस्थाहरूलाई नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले आह्वान गर्नुभएको छ।

