मुस्ताङकाे कागबेनीमा बाढीले ३१ घर बगायाे

मुस्ताङ जिल्लाकाे कागबेनीको कागखोलामा आएकाे बाढीले ३१ घर, बन्दै गरेकाे पक्कीपुल लगायतका संरचनामा क्षति पुगेकाे छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार कागखाेलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको हाे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले आइतबार बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका ३१ घर पूर्ण क्षति भएकाे जानकारी दिनुभयाे ।

इलाका प्रहरी कार्यालय कागखोलाको भवन र अन्य विभिन्न संस्थाका भवनमा समेत बाढीले क्षति पुगेकाे छ भने जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युत्का पोल बगाएको छ ।

पक्की पुल बगाउँदा उप्पल्लाे मुस्ताङसँगको सम्पर्क टुटेको छ भने मानिसहरू भने पहिल्यै बाढीकाे सूचना पाएकाले सुरक्षित स्थानमा गएका थिए ।

अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा लागेका छन् । हिमाली जिल्ला मुस्ताङमा केही वर्ष पहिलासम्म पानी कम पर्ने हुनाले बाढीकाे जाेखिम कम थियाे । तर पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा समेत भारी वर्षा हुन थालेकाे छ ।

Facebook Comments