काेशी र गण्डकीमा पानीकाे वहाव उच्च
लगातारको वर्षाको कारण काेशी र नारायणी नदीमा पानीको बहाव बढेकाे छ । सप्तकाेशीमा ३४ वर्षपछि पानीकाे वहाव उच्च मापन भएकाे छ । पानीकाे वहाव उच्च भएपछि काेशी व्यारेजका सबै ५६ वटा ढाेका खाेलिएकाे छ ।
आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा यो घट्दो क्रममा रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै पानीकाे वहाव उच्च मापन भएकाे जानकारी दिनुभयाे । सप्तकाेशीमा विस १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो भने आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएको हाे ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ ।

नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले बताए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।
नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

