यम पञ्चकको चौथो दिन: गोवर्धन पूजा
यम पञ्चकको चौथो दिन: गोवर्धन पूजा गरेर मनाइँदैछ । काग, कुकुर गाईकाे पुजा गरेर तिहार मनाएका हिन्दु धर्मावलम्वीहरूले आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गरी याे पर्व मनाउँछन् ।
कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।
श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको उल्लेख छ ।
भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गर्ने चलन छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको हाे ।
गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो ।
नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने बुझाउँदछ र यसर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो ।
तिहारमा देउसी भैलाे खेलेर मनाेरञ्जन गर्ने प्रचलन पनि रहेकाे छ । देउसी खेल्न घरघरमा आउनेहरूलाई कात्तिक महिनामा गरिने दानले पुण्य मिल्ने, देउसीले दिएको आशिष् लाग्ने सद्भाव बढ्ने जनविश्वास रहेकाे छ ।
तिहारमा रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसी वाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने विद्यालयमा सहयाेग, विरामी परेकाकाे उपचारमा सहयाेग गर्ने या बाँडेर लिने या वनभोज जाने लगायतमा खर्च गर्ने चलन छ ।


