विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको उपाध्यक्षकाे जिम्मेवारीमा रहेका र संगठनकै कामकाे सिलसिलामा काठमाडाैं गएकाे बुझिएकाे छ ।
जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएकाे छ।
महासंघ कास्कीकी अध्यक्ष अध्यक्ष विमला भण्डारीले पाैडेलकाे शव सनाखत गरी मन भारी बनाएर फर्किएकाे उल्लेख गर्नुभएकाे छ ।
यसैवीच नेपाल पत्रकार महासंघले पौडेलको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालय लगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभयाे ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।
२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए । सहकर्मीवीच प्रिय रहेका पाैडेलकाे निधनमा समग्र पाेखरेली दुःखी बनेका छन् ।

