प्रहरीका असई थमन विक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ, ७ जनालाई जन्मकैद

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरी महतोलाई अदालतले सफाइ दिएकाे छ ।

महोत्तरी जिल्ला अदालतले बिहीबार सांसद कोइरीलाई सफाइ दिने आदेश दिएको हो। मधेश प्रदेश सभा सदस्यसहित सात जनालाई भने अदालतले जन्मकैद फैसला सुनाएको छ।

प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।

न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले फैसला गरेको हो । २०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।

सो मुद्दामा लोसपा मधेस प्रदेश संसदीय दलका नेता शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए।

एमालेका प्रतिनिधिसभा सदस्य महतो र मोहन ठाकुर तारिख गुजारेर बसेका थिए। यसका साथै एम्बुलेन्स जलाएको अभियोगमा समेत उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो।

त्यस मुद्दामा पनि कापर र सांसद महतोलाई अदालतले सफाइ दिएकाे छ । कर्तव्य ज्यान मुद्दामा सजाए पाएका सात जनालाई भने ६ महिना कैद र १०/१० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश गरिएको छ।

२८ जनामध्ये हाजिर भएका ९ जनाको मुद्दामा महोत्तरी जिल्ला अदालतले फैसला गरेको र १९ जनाको मुद्दा मुल्तवीमा राखिएको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिनुभयाे ।

Facebook Comments