सर्वाेच्च अदालतद्वारा रेशम चाैधरीलाई जन्मकैद गर्ने उच्च अदालतकाे फैसला सदर

सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सदर गरेको छ। 

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदकाे फैसला सदर गरेकाे हाे । चाैधरीकाे मुद्दा जिल्ला तथा उच्च अदालतकाे फैसला बमाेजिम जेलमा रहेका बेला फैसला पुनारावेदनका लागि सर्वाेच्च पुगेकाे थियाे ।

सर्वाेच्चकाे फैसलामा अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर नपुग्ने उल्लेख गरिएकाे छ । इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ भने अर्का प्रतिवादी लक्ष्मण थारूकाे कैद अवधि ३ वर्षमा सीमित गरिदिएकाे छ ।

लक्ष्मणलाई उच्च अदालतले  कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो। सीताराम र गंगारामलाई पनि जन्मकैद र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो।

संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। साे हिंसात्मक घटनामा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान गएकाे थियाे ।

साेही हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। 

Facebook Comments