डा.सन्दुक रूइतलाई प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने
आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा अवार्डको मानवीय सेवातर्फको विधामा रूइतलाई सम्मान गर्न लागिएको हो ।
उक्त अवार्डमा स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ राशी रहेकाे छ । मनाेनयनमा रहेका १३९ विभिन्न व्यक्ति एवं संस्थामध्ये रूइत छनाैटमा पर्नुभएकाे हाे ।
मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्न लागिएकाे बताउनुभयाे ।
डा. रूइतले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गर्नुका साथै सुलभ मुल्यमा लेन्स विकास गर्नुभएकाे थियाे ।
हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भएका कारण रूइतलाई अवार्ड प्रदान गर्न लागिएकाे उक्त संस्थाका महासचिव अली अब्दुल्लाह खलिफाले उल्लेख गर्नुभयाे ।
डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

