हेटौंडामा चिकित्सक कुटपिट भएकाे विराेधमा आकस्मिक बाहेकका सेवा बन्द
हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे छ ।
चिकित्सकहरूकाे छाता संगठन नेपाल चिकित्सक संघकाे अगुवाइमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे हाे ।
हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो ।
तर सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघले जनाएकाे छ । प्रहरीले भने चिकित्सक कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने लगायतका आन्दाेलनका कार्यक्रम गर्ने उल्लेख छ ।
संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको माग गरेको छ ।

