नेपाल सरकारकाे निर्णयले टिकटक आश्चर्यमा

नेपालमा टिकटक प्रतिबन्ध गर्ने नेपाल सरकारकाे निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले जनाएकाे छ ।

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्य व्यक्त गर्नुभएकाे हाे ।

प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार मोटाकिनले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन पत्रमा अनुरोध गर्नुभएकाे छ ।

टिकटकले प्राधिकरणलाई लेखेको पत्रमा टिकटक मार्फत रचना र खुसी साट्ने टिकटकका प्रयाेगकर्तासँगै टिकटक सञ्चालक समेत आश्चर्यचकित भएकाे जनाएकाे छ।

‘यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन्। उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन्।’ पत्रमा लेखिएकाे छ ।

नेपाल सरकारको टिकटक प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर गर्ने टिकटककाे ठहर छ । कतिपयले यस मार्फत् व्यवसायकाे प्रवर्द्धन गरिरहेकाले त्यसमा गम्भीर असर गर्ने तर्फ साेच्नुपर्ने टिकटकले जनाएकाे छ ।

‘हामी नेपालमा सुरक्षित तरिकाले टिकटक विस्तार गर्नका लागि नेपाल सरकारसँग सम्बन्ध कायम राखिरहन चाहन्छौं। हामीलाई यो मौका दिनुपर्छ भन्ने आशा पनि गर्छौं,’ टिकटकले लेखेको पत्रमा भनिएको छ, ‘मानिसहरूले आफ्ना अभिव्यक्तिहरू राख्न व्यापक रूपमा प्रयोग गरिरहेको प्लेटफर्म यसरी एकाएक बन्द गर्नु वाक स्वतन्त्रताविरूद्ध हो। हामी नेपाल सरकारले उठाएका कुनै पनि प्रश्न सम्बोधन गर्न र दुबै पक्षको हितमा हुने गरी काम गर्ने संकल्प गर्छौं। धन्यवाद।’

टिकटकले प्लेटफर्म बन्द गर्नु वाक स्वतन्त्रताविरूद्ध हुने उल्लेख गरेकाे छ ।

Facebook Comments