हरितालिका (तीज) पर्व आज
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दु धर्मावलम्वी महिलाहरूले विशेष रूपमा मनाउँदैछन । देवताका पनि देवता भनेर विश्वास गरिने महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । विवाहित महिलाहरूले पतिदेवकाे सुख, शान्ति दिर्घायूकाे कामना गर्दै व्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयाेग्य बर पाउँ भनी महादेवकाे पूजा आराधना गर्ने गर्दछन् ।
धार्मिक ग्रन्थहरूमा सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेका कारण श्री महादेव पति पाउने बरदान पाएकाे भन्ने उल्लेख छ । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएकाे र साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएकाे भन्ने समेत उल्लेख छ ।
साेही बखत साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकाे धार्मिक विश्वास अनुसार महिलाहरूले सुयाेग्य पति तथा पतिकाे दिर्घायू हाेस् भनी कामना गर्दै निराहर व्रत बस्ने तथा महादेवकाे पूजा आराधना गर्ने गर्दछन् ।

