कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने
मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ।
न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। काेशी, बागमती र गण्डकी प्रदेशमा आज साँझ भारी वर्षाकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मनसुनको अवधिभर न्यूनचापीय रेखा स्थिर नरहने हुँदा वर्षातमा समेत उतारचढाव हुने गर्दछ । आज रातिदेखि भोली र पर्सिसम्म वर्षा तुलनात्मक रूपमा वृद्धि हुने पूर्वानुमान् छ।
आज बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई लुम्बिनी प्रदेश सहित पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

