सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढ छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा सरकार दृढताका साथ अगाडि बढेको बताउनुभएकाे छ । उहाँले वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेकाे उल्लेख गर्नुभएककाे छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको अवसरमा सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे छ ।

स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत रहेको बताउनुभएकाे छ ।

नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष ग्याल्बो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकाे छ ।

Facebook Comments