नेत्र चिकित्सक डा.सन्दुक रुइत प्रतिष्ठित इशा अवार्डबाट सम्मानित

नेपालका प्रतिष्ठित नेत्र चिकित्सक डा.सन्दुक रुइत बहराइन सरकारका तर्फबाट प्रतिष्ठित अवार्ड इशा अवार्डबाट सम्मानित हुनुभएकाे छ ।

बहराइनका राजा हमाद बिन इसा अल खालिफाले ‘मानवताका लागि सेवा’ गरेबापत डा.रूइतलाई उक्त अवार्ड प्रदान गर्नुभएकाे हाे ।

मंगलबार बहराइनकाे राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्नुभयाे ।

राजा हमाद बिन इशा अल खालिफाले ‘लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताउनुभयाे ।

बहराइनका पुर्व राजा सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ ।

सम्मान ग्रहण गर्दै डा.रूइतले तिलगंगा अस्पताल, सम्पूर्ण सहकर्मी एवं सहयाेगीहरूकाे सत्कर्मले गर्दा प्रतिष्ठित अवार्ड प्राप्त भएकाे भन्दै सबैलाई स्मरण एवं धन्यवाद दिनुभयाे ।

डा. रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स विश्वभर सर्वसुलभ मुल्यमा उपलब्ध छ । उक्त लेन्स ३ डलरमै उत्पादन हुने र करीब ६० लाख इन्ट्राअक्युलर लेन्स आज विश्वभर वितरण भइसकेको जनाइएकाे छ ।

Facebook Comments