दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सहित ३ काे मृत्यु
बझाङमा भएकाे सडक दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।
बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । मन्त्री सिहं सहित ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत् साे मेडिकल कलेज लगिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरका अनुसार मन्त्री पृथ्वीबहादुरकाे ५:३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको थियाे ।
यसअघि नै साेही दुर्घटनामा पत्नी अमृता र भाउजु जयादेवीकाे मृत्यु भएकाे थियाे ।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ।
सिंह गत जेठ ५ गते सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएपछि पहिलाे पटक जिल्ला भ्रमणमा जान लाग्दा दुर्घटनामा परी निधन भएकाे हाे ।
उहाँ गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
सिंहकाे निधन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गहिराे दुःख प्रकट गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएकाे छ । यसैवीच सुदुरपश्चिम सरकारले मन्त्री सिंहकाे निधनमा बुधबार १ दिन शाेकविदाकाे घाेषणा गरेकाे छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेपाली कांग्रेस नेता पृथ्वीबहादुर सिंह, श्रीमती अमृतादेवी सिह र भाउजू जयादेवी सिहको सवारी दुर्घटनामा परी निधन भएको खवरले निकै मर्माहत भएको उल्लेख गर्नुभएकाे छ ।
उहाँले उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ । सिहको निधनले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको पनि देउवाले उल्लेख गर्नुभएकाे छ ।

