इजरायलमा मारिएका ४ नेपालीकाे शव ल्याइँदै

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ। इजरायल हमास युद्धका क्रममा निधन भएका १० नेपालीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो।

कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले जानकारी दिएकाे छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौंमा आइपुग्नेछ। बाँकी ६ जना नेपालीकाे शव पहिचानको काम भइरहेको दूतावासले जनाएको छ। त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्य जारी रहेकाे पनि दूतावासले उल्लेख गरेको छ।

Facebook Comments