भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति नै नेपालकाे राष्ट्रिय संस्कृतिः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे हाे ।
प्रधानमन्त्रीले जारी गर्नुभएकाे शुभकामना सन्देशमा नेपाल विभिन्न जाति समुदायमा प्रचलित संस्कृतिहरूकाे संगमस्थल रहेकाे उल्लेख छ भने नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व रहेको उहाँले बताउनुभएकाे छ ।
नेपालमा बसोबास गर्ने सबै जाति/जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको भन्दै प्रधानमन्त्रीले सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो भन्नुभएकाेछ ।
नेपाली जनताले लोकतन्त्रका लागि ठूलाे संङर्ष गरेकाे र त्यसमा तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलन लगायतले खेलेको भूमिका उच्च रहेकाे प्रधानमन्त्रीकाे सन्देशमा लेखिएकाे छ ।


