आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफलः बैंक वित्तीय संस्थाकाे ऋण नतिर्ने भन्ने हुन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे वर्तमान आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफल गर्नुभएकाे छ ।
नेपाल सरकारका मन्त्रीहरू र निजी क्षेत्रका सराेकारवालावीच सोमबार र मंगलबार आर्थिक अवस्थाको विषयमा छलफल भएकाे थियाे ।
अर्थतन्त्र संकट बाहिर नआएको निचोडसहित सुधारकाे प्रयासस्वरूप प्रधानमन्त्री प्रचण्डले दुई दिनसम्म यस्ताे छलफल गर्नुभएकाे हाे । निजी क्षेत्र, राजनीतिक दल र विज्ञहरूको समेत धारणा प्रधानमन्त्रीले चासाेपूर्वक लिनुभएकाे जनाइएकाे छ ।
बाह्य सूचक (विदेशी मुद्रा सञ्चिति, सञ्चिति पर्याप्तता, चालु खाता, शोधानान्तर स्थिति) सुविधाजनक अवस्थामा रहेको र आन्तरिक सूचक सुधारोन्मुख अवस्था रहेको निचोड सरकारी अधिकारीको छ।
छलफलमा बैंक तथा वित्तीय संस्थाबाट लिएकाे ऋण मिनाहा हुने अफवाहकाे पछाडि नलाग्न सचेत गराउनुपर्ने धारणा व्यक्त भएकाे थियाे । प्रधानमन्त्रीले पनि छलफलमा बैंक तथा वित्तीय संस्थाबाट लिएकाे ऋण नतिर्ने भन्ने हुन नसक्ने बताउनुभएकाे थियाे ।
सरकारले निजी क्षेत्रको असन्तुष्टि तथा वित्तीय क्षेत्रमा नियमन प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकाे छ।

