प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएकाे एक वर्ष पुराः राष्ट्रका नाममा सम्बाेधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएकाे बताउनुभयाे ।
प्रधानमन्त्रीकाे सम्बाेधनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा भएका सम्पूर्ण उपलब्धिहरू समेटिने बताइएकाे छ ।
यसअघिका २ पटक प्रधानमन्त्री प्रचण्डले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गर्नुभएकाे थियाे ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थनमा गत पुस १० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । पछि एमाले सरकारबाट बाहिरियाे भने कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरू सरकारमा सहभागी भएका थिए।
एक वर्षकाे अवधिमा सरकारले गरेका कतिपय निर्णयहरू कार्यान्वयन हुन नसकेकामा भने स्वयं प्रधानमन्त्री नै असन्तुष्ट हुनुहुन्छ । उहाँले सम्बाेधन मार्फत् विशेष घाेषणा गर्ने बताउनुभएकाे छ ।
यसअघि साेमबार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकाे बैठक बसी संक्रमणकालीन मुद्दा सम्बाेधन गर्ने विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने समझदारी बनेकाे बताइएकाे छ ।

